सभापति देउवालाई मन्त्री छान्न सकस, कसको नेतृत्वमा होला सरकारमा सहभागी ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । पुस १० गते अगाडिको पाँच दलीय गठबन्धन दुई महिना नपुग्गदै टुंगिएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई तिहाइभन्दा बढी मन्त्रालय रिक्त हुन पुगेको थियो । प्रधानमन्त्री दाहाललाई माओवादीका साथै कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसद सिंहबाट विश्वासको मत पाइसकेपछि सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । कुन मन्त्रालय लिने भन्ने विषय पेचिलो बन्ने देखिएको छ । भएभरका दलहरूले उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय मागिरहेका छन् । एसले गृह मन्त्रालयमा दाबी गरेको छ । माओवादी अर्थ र गृहमध्ये एउटा नछाड्ने मनस्थितिमा छ । कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । उपप्रधानमन्त्रीका आकांक्षी पनि धेरै देखिएका छन् । चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जान तयार छन् । राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्रीलाई विश्वासको मतको प्रक्रिया टुंगिएकाले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा गठबन्धन दलहरू रहेका छन् ।

कांग्रेस तीन महिनापछि सत्तामा फर्कंदै छ । गठबन्धन दलहरूबीच भागबन्डा गर्दा थोरै मन्त्रालय पर्ने तर आकांक्षी धेरै रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई मन्त्री छान्न सकस परिहेको छ । देउवाले पुस ६ मा भएको संसदीय दल नेताको निर्वाचनका बेला नै दुई दर्जनभन्दा बढी सांसदलाई मन्त्री बनाइदिने आश्वासन बाँडेको नेताहरू बताउँछन् । अहिले उनीहरू मन्त्री बन्ने आस बोकेर देउवा निवास धाइरहेका छन् ।

एमालेले यसअघि लिएका मन्त्रालयमध्ये अधिकाश कांग्रेसलाई दिने गरी समझदारी बनाउन प्रधानमन्त्री दाहालले कसरत गरिरहेको नेताहरू बताउँछन् । कांग्रेसले ८ मन्त्रालय पाए नेता शेखर कोइराला समूहलाई दुई मन्त्रालय दिने मनस्थितिमा देउवा रहेको निकट नेताहरू बताउँछन् । उनीहरूका अनुसार कोइरालाले नमान्ने अडान लिए भने बढीमा तीन मन्त्रालय हुन सक्छ । सरकारमा कांग्रेसको नेतृत्व कसले गर्छ भन्ने चासोसमेत बढेको छ ।

पार्टीबाट सरकारको नेतृत्व गर्नेमा उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहको नाम चर्चामा छ । प्रवक्ता प्रकाशशरण महत, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता उदयशमशेर राणाले समेत अर्थमन्त्रीका लागि ‘लबिइङ’ गर्दै आएका छन् । गठबन्धन बनाउन मुख्य भूमिका निर्वाह गरेका उपसभापति पूर्णबहादुर खड्कालाई त्यसको स्वाभाविक दाबेदार मानिएको छ । उनी निकटस्थ नेता भने खड्काले नै उपप्रधानमन्त्रीसहित पार्टीबाट सरकारको नेतृत्व गर्ने प्रबल सम्भावना भएको बताउँछन् ।

नेता शेखर कोइरालाले पनि पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान सक्ने सम्भावना छ । उपसभापति खड्का सरकारमा नगएको खण्डमा कोइराला पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी हुन सक्छन् । कोइराला सरकारमा गए परराष्ट्र वा अर्थमध्ये कुनै एक मन्त्रालय सम्हाल्ने कांग्रेसका ती नेताले बताए ।  गठबन्धनको प्रमुख दल कांग्रेसले बढीमा नौ मन्त्रालय पाउने देखिएको छ । सरकारमा जान पार्टीका शीर्ष नेताहरूले नै ‘लबिइङ’ गर्दै आएका छन् ।

  नेता शशांक कोइराला पनि मन्त्री बन्ने ‘लबिइङ’ मा छन् । २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका उनी यसअघि मन्त्री बनेका छैनन् । पार्टीको १४औं महाधिवेशनदेखि शेरबहादुर देउवालाई साथ दिंदै आएकाले उनको सम्भावना बढी छ । उनले सार्वजनिक रूपमै आफू मन्त्री बन्न इच्छुक रहेको बताएका छन् ।  कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अहिलेको परिस्थितिसँग जुध्न सक्ने योग्य र युवालाई मन्त्री बनाउनुपर्ने बताउँछन् । १४औं महाधिवेशनबाट देउवाको निकट भएका कृष्णप्रसाद सिटौला समूहका पौडेल पनि प्रमुख दाबेदार हुन् ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य रामहरि खतिवडा पटक–पटक मन्त्री भएकालाई भन्दा चुनाव जितेर आएका नयाँ अनुहारलाई मन्त्रीमा प्राथमिकता दिनुपर्ने बताउँछन् । बागमती प्रदेशबाट मन्त्री बन्ने आकांक्षी नेताको संख्या धेरै छ । त्यस्तै‚ पछिल्लो समय देउवालाई साथ दिंदै आएका प्रकाशमान सिंह, उदयशमशेर राणा पनि बलियो दाबेदार हुन् । सिन्धुपाल्चोकका मोहन बस्नेत पनि मन्त्री बन्ने तयारीमा रहेका नेताहरु बताउदै आएका छन् । गण्डकी प्रदेशबाट उपसभापति धनराज गुरुङ मन्त्रीका बलियो दाबेदार हुन् ।

यस्तै‚ देउवा निकट शंकर भण्डारी र राजेन्द्र बजगाईंले पनि दाबी गर्दै आएका छन् । परराष्ट्र मन्त्रालयमा आरजुको दाबी रहेको छ । शेखर र गगनलाई मन्त्रिपरिषद्मा पठाउन आरजुले नचाहेको संस्थापनइतरका नेताहरु बताउँछन् । त्यसैले संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री पाण्डे, जीवन परियार र रामनाथ अधिकारीलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बुझिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.