रोचक बन्दै चितवन उपनिर्वाचन ! प्रमुख दलका उम्मेदवारहरु बीचमै कडा प्रतिस्पर्धा
काठमाडौं । मंसिरको आम उपनिर्वाचनका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपनिर्वाचनमा पनि देखिने पक्का भएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो निर्वाचनको महत्त्व अरू बेलाका उपनिर्वाचनभन्दा बढ्ता देखिएको हो ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । लामिछानेले फर्जी नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं।२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट जीवलाल पुरीको उम्मेदवारी मनोनयन दर्ता गरिएको छ भने नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर तामाङ, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिनको मनोनयन दर्ता भएको छ । जय जन्मभूमि पार्टीबाट प्रेमबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैसी, राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारीले उम्मेदवार बन्न मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारका लागि अम्बिका भट्ट, चक्रपाणि न्यौपाने, ताराप्रसाद पौडेल, भास्करचन्द्र न्यौपाने, मोजराज बगाले, रामकृष्ण ओझा, लक्ष्मीमाया कोइराला बुढाथोकी, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्शन कँडेल, सुमन श्रेष्ठ र सुवास परियारले मनोनयन दर्ता गराएका छन् । वैशाख १० मा हुने निर्वाचनमा मुख्य रूपमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमाले उम्मेदवार एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेबीच नै हुने प्रस्ट छ ।
चितवन कांग्रेसका पूर्व सभापति रहेका श्रेष्ठ १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । नेविसंघको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला सभापति भइसकेका ४३ वर्षे जितनारायण जिल्ला सभापति हुँदा कान्छो जिल्ला सभापतिका रुपमा चर्चित बनेका थिए । अर्थशास्त्रमा स्नात्तकोत्तर श्रेष्ठ पनि चितवनमा पारिवारिक राजनीतिबाटै उदाएका नेता हुन् । उनका बुवा बलबहादुर श्रेष्ठ तत्कालिन शक्तिखोर गाउँ विकास समितिका अध्यक्ष थिए । राजनीतिसँगै जिल्लाका नागरिकको सुखदुःखमा सारथी बनेका श्रेष्ठ यसपटक लामिछानेका लागि भारी पर्ने कांग्रेस नेताहरू दाबी गर्छन् ।
महामन्त्री विश्वप्रकाश शर्मा, सह माहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्य उमेश श्रेष्ठ, पूर्व मन्त्री उमा रेग्मी, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका नेता घनश्याम दाहाल, ठाकुर ढकाल, माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी लगायत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताको बाक्लो समर्थनमा गठबन्धनका तर्फबाट श्रेष्ठलाई समर्थन गरेका छन् ।
नेता तथा कार्यकर्ताको समर्थन हेर्दा निर्वाचनको नतिजा उनकै पक्षमा आउने अनुमान जो कोहीले गर्ने सक्छ । कांग्रेसले गठबन्धन दल र अन्तर्घातको समस्या सुल्झाउन सकेको खण्डमा सो क्षेत्रमा जित निकाल्न सक्ने अनुमान गर्न सकिन्छ । श्रेष्ठलाई सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको सहयोग छ ।
पार्टी सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागेपश्चात् संविधान अनुसार नेपाली नागरिकता पुनः प्राप्तिका लागि सम्बन्धित निकायलाई निस्सा नदिएको सानो त्रुटिका कारण एकै पटक उनले पार्टी सभापति, संसदीय दलको नेता, सांसद र मन्त्री पद गुमाएका थिए । गएको निर्वाचनमा वाम–लोकतान्त्रिक र एमालेका प्रभावशाली उम्मेदवारलाई ३४ हजार ३१२ मतान्तरले पराजित गरेका रविले आसन्न उपनिर्वाचनमा पहिलेको भन्दा फराकिलो मतान्तरले विजयी हुने उनको दाबी छ । यसअघि ४९ हजार ३०० मतसहित उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
विगत र हालको कार्यकर्ताको उपस्थितिलाई विश्लेषण गर्ने हो भने विगतको भन्दा करिब ५० प्रतिशत कम कार्यकर्तासहित उम्मेदवारी दर्ता गराएका लामिछानेको चितवन २ मा क्रेज घट्दो देखिन्छ । उक्त उपस्थितिलाई हेर्दा सत्ताको खेल र सरकारमा रहँदा जनताको अपेक्षाअनुसार काम गर्न नसक्नु, नागरिकता विवाद तथा राहदानी प्रकरणका कारण उनको दलको जनमत पहिले जस्तो बलियो नभएको विश्लेषण गर्न सकिन्छ । यसअघि बन्दै गरेको संगठन र अनुमानित कमजोर पृष्ठभूमिमा उम्मेदवार बन्दा अप्रत्यासित मतसहितको जित निकालेका लामिछानेलाई अब उपनिर्वाचनमा फेरि त्यस्तै परिणाम निकाल्नुपर्ने चुनौती छ । त्यसमाथि कांग्रेस र एमालेका नयाँ अनुहार उनकालागि चुनौती बन्न सक्छन् ।
एमालेले पनि एकै अनुहारलाई तेहेर्याएर उम्मेदवार बनाउँदा आफ्नो प्रभाव क्षेत्र खोसिएपछि यसपटक नयाँ अनुहारलाई अघि सारेको छ । ४५ वर्षे न्यौपाने न्यौपाने हाल पार्टीका जिल्ला अध्यक्ष हुन् । केन्द्रीय सदस्य गोकुल बास्कोटा, नेता कृष्णभक्त पोखरेल लगायतका नेताहरुको समर्थनमा उम्मेदवारी दिएका न्यौपाने संगठनको बलमा निर्वाचन जित्ने दाउमा छन् । उनको समर्थन हेर्दा सो क्षेत्रमा चुनाव जित्न उनको लागि पनि निकै चुनौतीपूर्ण रहने देखिन्छ ।
विगतमा आफ्ना कार्यकर्ताहरुको संगठित मत एमालेका उम्मेदवारलाई आउन नसक्दा व्यहोरेको हार उनीसामु कायमै छ भने एमाले विभाजनको असर पनि उनको लागि अर्को चुनौती बन्ने देखिन्छ । रास्वपा सभापति रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धाका लागि युवा नेता न्यौपानेलाई अघि सारेको एमालेले अभियानले साधारण, सांगठनिक सदस्य र शुभेच्छुकको संख्या बढेको निष्कर्ष समेत निकालेको हो ।
चितवन क्षेत्र नंं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छा कामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर जित्दा पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...