गर्मी मौसममा शरीरलाई शीतल राख्न चाहनुहुन्छ भने यस्ता खानेकुरामा ध्यान दिनुहोस्


सुस्मिता कार्की/काठमाडाैं । यो वर्ष बर्खा सुरु भए लगतै विगतको वर्षको तुलनामा गर्मीको मात्रा बढेर नयाँ कीर्तिमान कायम गर्दै छ । गर्मी जति बढे पनि मुठी खाएर मुरी उब्जाउने समयमा मानिसहरूले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने बाध्यता छ । गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ । तराईमा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बन्दै गएको देख्न सकिन्छ । यस्तो समयमा मानिसको शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले सङ्क्रमण तथा स्वास्थ्य समस्या देखिन थाल्छ ।
गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यस कारण गर्मीका बेला नियमित खाने कुरामा ध्यान दिनुपर्छ । हामीले चिसो पानी, चिसो पेय पदार्थ, दही र मही जस्ता पेय पदार्थहरू गर्मी मौसममा खाने गर्छौँ । गर्मी मौसममा भोक नलाग्नु र धेरै पसिना आउने कारण शरीरको तापक्रम साधारण हुँदैन । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । त्यसैले गर्मीमा खास किसिमका खानेकुराको सेवन गर्दा पनि शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
गर्मी मौसममा यी खानेकुरा खानुहोस् :
पानी :
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरीरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोतलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।
नरिवलको पानी :
गर्मीमा नरिवलको पानी सेवन गर्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । नरिवल पानी पिएर बाहिर निस्कँदा तातो हावाबाट तपाईँलाई सुरक्षित राख्न मद्दत गर्छ । साथै यसले लु लाग्ने समस्याबाट पनि बचाउँछ । त्यस्तै नरिवलको पानी सेवन गर्दा शरीरलाई चिसो बनाउन तथा तापक्रमलाई ठिक बनाइराख्न मद्दत गर्छ । नरिवल पानीको विशेषता भनेको शरीरलाई चिसो बनाउनुका साथै शरीरको तापमानलाई ठिक बनाउनु हो । त्यस्तै नरिवलको पानीलाई इनर्जीको राम्रो श्रोतको रूपमा पनि लिइन्छ । धेरै व्यायाम गर्नेहरूले नरिवल पानी पिउनु निकै लाभदायी मानिन्छ । व्यामपछि पिउनु उत्तम हुन्छ ।
नरिवल पानीमा क्याल्सियम, म्याग्नेसियम, र पोटासियम भरपुर पाइन्छ, यसले ब्लड सर्कुलेशनलाई बढाउँछ । यो एक इलेक्ट्रोलाइट ड्रिंक हो, जसले शरीरलाई रिहाइड्रेड गर्छ । यदि तपाईँको पाचन प्रणालीमा गडबडी भएमा पनि नरिवल पानी पिउनु राम्रो मानिन्छ । यसमा एन्टी भाइरल र एन्टी ब्याक्टेरियल प्रोपर्टिज पनि हुन्छ ।
खरबुजा :
खरबुजा पनि गर्मीको माेसममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठिक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफूलको प्रयोग आवश्यक छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्त नलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ । खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईँको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ । खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ । खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनिरलले तपाईँलाई ऊर्जावान् राख्न मद्दत गर्छ ।
खरबुजामा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईँको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ । एमिनो एसिडले भरपुर खरबुजाले तपाईँको मुटुको स्वास्थ्यका लागि शानदार हो । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्त्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।
काँक्रो :
काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । यो नेपाली जनजीवनमा भिजेको खान्की पनि हो । खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् । नियमितरूपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ । भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौँ फाइदा छन् । काँक्रोमा सिलिकाजस्ता तत्त्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।
मकै :
गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ । तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन सुरु भएपछि भने टन्नै हरिया मकै खान सुझाव दिइन्छ । साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ । मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ । पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्त्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग समेत लड्न मद्दत गर्छ ।
गाजर :
गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रूपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । गाजरको एक कप जुस १० देखि १२ हप्तासम्म नियमित पिउने गर्नाले घाममा पाइने विकिरणले मानिसको छालामा हानि पुर्याउने जोखिम ५० प्रतिशत कम हुने गर्छ । गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ । त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ । साथै यसले क्यान्सरजन्य रोगहरूको जोखिम पनि कम गर्दछ । सिधै गाजर खाँदा त झनै राम्रो । तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरू रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला ।
पुदिना :
पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । यसलाई अचार, जुस र सलादमा पनि यसको आफ्नै स्वाद हुन्छ । जे गरेर, जसरी पनि खाए हुन्छ । पुदिनाको कुनै साइड इफेक्ट छैन । अर्कोकुरा, पुदिना यस्तो वनस्पति हो जसले वायुलाई शुद्धिकरण गर्नमा समेत भूमिका खेल्छ । त्यसैले आयुर्वेदमा यसलाई निकै महत्व दिइएको छ । खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो । अर्थात यसले मुखलाई ताजा र सफा राख्छ । पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो । गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ । यसले प्राकृतिक रूपमा शरीरलाई शीतल बनाइराख्छ ।
दही :
यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरू निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पुराउँछ । नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । कोही एकदमै दुब्लो पातलो छ भने दैनिक १ गिलास दही सेवन गरेमा यसले व्यक्तिको तौल बढाउन मद्दत गर्छ । दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।
गर्मीमा उपयोगी तरकारीहरू :
कतिपय तरकारीले शरीरमा तापक्रम बढाउने काम गर्छन् । गर्मीमा बाहिरको तापक्रम बढी हुने गर्छ । यस्तोमा तापक्रम बढाउने तरकारी खाँदा तापक्रम नियन्त्रण गर्न गाह्रो हुन्छ । यसर्थ, गर्मी मौसममा सजिलै पच्ने र हलुका तरकारी उपभोग गर्नुपर्छ । गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरीरलाई स्वस्थ राख्न सहयोग पुराउँछ । त्यसका लागि लौका, प्याज, करेला, हरियो सिमी, फर्सी, गोलभेंडा, भेडे खुर्सानी, गान्टेमुला, भिन्डी, जस्ता तरकारी उपयोगी हुन्छन् ।
गर्मी समयमा तेलमा तारेको र भुटेको खाना खानु हुँदैन । पकाएर लामो समयसम्म राखेको खाना र बासी खाना खाँदा रोगको सङ्क्रमण हुने जोखिम हुन्छ । गर्मीमा चिया तथा तातो कफीको सेवन गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । यस्तै, जाँडरक्सी तथा धूम्रपानको सेवन गर्मी याममा अझ बढी हानिकारक मानिन्छ । त्यसैले गर्मीको समयमा हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नपर्छ । खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...